काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई समाप्तपार्न वामपन्थीरू मिलेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग मंगलबार बिहान कुरा गर्दै डा.कोइरालाले कांग्रेसलाई सिध्याउन एमाले र माओवादी केन्द्रबीच वामगठबन्धन बनेको बताए । एमाले र माओबादी मिल्दा काँग्रेस समाप्त नै हुने उनको प्रतिक्रिया थियो ।

‘कांग्रेसलाई पहाडी क्षेत्रमा जित्न नदिन एमाले र माओवादी केन्द्र मिलेका हुन्’, उनले भने, ‘तराईमा पनि मधेस केन्द्रित दलहरूले कांग्रेससँग पचास प्रतिशत सिट मागेर अफ्ठ्यारो बनाएका छन् ।’

नेता डा.कोइरालाले जित्ने जति सबै सिटमा तालमेल गरेर अरु दललाई दिने हो भने कांग्रेसका नेताहरूले के गर्ने ? भनेर प्रश्न गरे । उनले भने, ‘मधेस केन्द्रित दल र कमल थापाको राप्रपाले आफ्नो दलको हैसियतअनुसार सिट माग्नु पर्छ ।’

झापा ३ मा कांग्रेसले राप्रपालाई नछाड्ने उनले बताए । ‘झापा ३ र दैलेख जिल्ला कांग्रेसले छाड्दैन’, उनले भने, ‘दैलेखमा राप्रपाको ३ हजार मत हो । कांग्रेसको १८ हजार मत छ । यस्तो अवस्थामा कसरी राप्रपालाई दिन सकिन्छ ?’

कमल थापा राष्ट्रिय व्यक्तित्व भएकाले कांग्रेसले सहयोग गर्ने भन्दै कांग्रेस नेता डा.कोइरालाले तालमेलका नाममा जथाभावी रुपमा क्षेत्र छाड्न नसक्ने बताए ।

राप्रपाका अध्यक्ष थापाले झापा ३ मा राजेन्द्र लिङदेन र दैलेखमा कुन्तीकुमारी शाहीका लागि कांग्रेससँग सिट माग गर्दै आएका छन् ।

Facebook Comments