काठमाडौँ फागुन २१ – आइसिसी एकदिवसीय विश्वकप कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाललाई घरेलु टिम जिम्बावेले १ सय १६ रनले पराजित गरेपनि नेपालले ब्याटिङ सुधारको संकेत देखाएको छ।

पहिलो पटक टेस्ट राष्ट्रसँग एकदिवसीय खेल खेलेको नेपालले पूरै ओभरमा ब्याटिङ गर्दा ८ विकेट गुमायो। आइतबार भएको खेलमा आक्रमक ब्याटिङ गरेको जिम्बावेले ३ सय ८० रन जोडेको थियो। जवाफमा नेपालले ८ विकेट गुमाएर २ सय ६४ रन बटुलेको थियो।

खेलपछि नेपालका कप्तान पारस खड्काले जिम्बावेले उत्कृष्ट ब्याटिङ गरेको प्रतिक्रिया दिएका छन्। ‘दुई ब्याट्सम्यानले ८० वा शतक बनाउनु पर्थ्यो। तर पनि हामीले २ सय ६० रन बढी बनाउन सक्यौं,’ पारसको भनाइ क्रिकइन्फोले उद्धृत गरेको छ,’उनीहरुले एकदमै राम्रो ब्याटिङ गरे। सिकन्दर राजाको इनिङ उत्कृष्ट थियो। हामीले बलिङमा धेरै योजना लागु गर्न खोजेका थियौं। तर उनीहरुले हामी विरुद्ध उत्कृष्ट ब्याटिङ राम्रो गरे।’

खेलमा शतक बनाउनुका साथै ३ विकेट लिएका जिम्बावेका अलराउन्डर सिकन्दार राजाले पनि छनोटको पहिलो जित हात पार्नु ठूलो भएको बताए। ‘एकदिवसीय वा लिस्ट ‘ए’ कुन खेल हो त्यसलै कुनै फरक राख्दैन। यो छनोटको खेल हो, त्यसले अर्थ राख्छ’ राजाले भनेका छन्, ‘हामी सुखद सुरुवात गरेर राम्रो सन्देश दिन चाहान्थ्यौं। ३ सय ८० रन बनाउने लक्ष्य लिएर खेलेका थियौं। खेलको असली नायक हाम्रा ओपनर हुन्। उनीहरुले राम्रो सुरुवात दिलाउदा हाम्रो ब्याटिङ राम्रो भयो।

समूह ‘बी’को पहिलो खेलमा पराजित भएको नेपालले अब बुधबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।

Facebook Comments