काठमाडौं– स्वास्थ्य मन्त्रालयले सवै अस्पतालहरुसँग उपचार शुल्क सूची र लिनुको आधार माग्ने भएको छ । शुल्क निर्धारण कार्यसमितिले ७ दिनभित्र शुल्क सूची मन्त्रालयमा पठाउन सोमबार पत्रचार गर्ने भएको छ।

कार्यदलले सरकारी, प्रतिष्ठान अन्तर्गतका, मेडिकल कलेजका, निजी अस्पताल र सामुदायिक अस्पताललाई यसका लागि पत्राचार गर्ने तयारी गरेको छ। अस्पतालहरुका छाता स‌ंगठन मार्फत शुल्क सूची माग्ने बताइएको छ ।

अस्पतालहरुले लिइरहेको शुल्क विश्लेषण गरी त्यसको वैज्ञानिक अाधार तय गर्ने भएको हाे।

शुक्रवार बसेको कार्यदलको बैठकले शुल्क सूची र लिनुको आधार माग गर्ने निर्णय गरेको थियो । अस्पतालहरुले मनोमानी शुल्क असुलिरहेको गुनासो बढेपछि स्वास्थ्य मन्त्रालयले निगरानी थालेको हो।

उपचार शुल्कमा हुने मनोमानी रोक्न ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७०’ मा स्वास्थ्य सचिव संयोजकत्वको शुल्क निर्धारण समितिको व्यवस्था गरिएको छ। उक्त समितिले केही समयअघि काम थालेको हो । जसअनुसार चिकित्सा महशाखा प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदललाई ३५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ।

Facebook Comments